कोरियामा साना उद्योगमा कार्यरत श्रमिक गर्मी बिदाको सुविधाबाट बन्चित

बलराम पुडासैनी
२०८२ श्रावण २१, बुधबार १९:२६

दक्षिण कोरिया। दक्षिण कोरियामा गर्मीयामलाई लक्षित गरी दिइने गर्मी बिदाको सुविधा यहाँस्थित आधाभन्दा बढी उद्योगमा कार्यरत कामदारले पाउन सकेका छैनन्।

ठूला उद्योगहरूले आफ्ना कामदारहरूलाई गर्मीयाममा दिइने बिदाको व्यवस्था गरे पनि यो सुविधा सबै श्रमिकसमक्ष पुग्न सकेको छैन।

विशेषगरी कृषि क्षेत्रमा काम गर्ने श्रमिक र साना तथा मझौला उद्योगमा कार्यरत लाखौं श्रमिकहरू गर्मी बिदाको सुविधाबाट वञ्चित हुनुपरेको हो।

कोरियामा औसत रूपमा करिब ३ दिन बिदा दिने गरिन्छ। तर, अधिकांश साना उद्योगहरूले गर्मी बिदा नदिँदा यसले श्रमिकको व्यक्तिगत जीवन तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विज्ञहरूको टिप्पणी छ।

सामान्यतः यहाँका उद्योगहरूले जुलाई महिनाको अन्त्यदेखि अगस्टको पहिलो हप्तासम्म बिदा दिने गरेका छन्। तर, ५५ प्रतिशत साना तथा मझौला कम्पनीहरूले अझै पनि आफ्ना श्रमिकलाई गर्मी बिदा दिने योजनै नबनाएको तथ्यांकले देखाएको छ।

कोरियाली श्रम संगठनहरूका अनुसार ९२ प्रतिशत उद्योगहरूले गर्मी बिदाको योजना बनाएका भए पनि कार्यान्वयनको चरणमा पुग्दा साना उद्योगहरू पछि हट्ने गरेका छन्।

साना कम्पनीहरूमा मानव संसाधन सीमित हुने, कामको चाप बढी हुने र वैकल्पिक जनशक्ति व्यवस्थापनको अभाव हुने जस्ता कारणले बिदा कार्यान्वयन गर्न गाह्रो हुने स्पष्ट भएको छ।

बिदासँगै भत्ता दिने उद्योगहरूको संख्या पनि घट्दो क्रममा छ। सन् २०२५ को तथ्यांक अनुसार, केवल ५३।९ प्रतिशत कम्पनीहरूले मात्र बिदासँगै भत्ता दिने व्यवस्था गरेका छन्। गत वर्षको तुलनामा यो प्रतिशत केही घटेको हो। यसले कोरियाली श्रम बजारमा कार्य–जीवन सन्तुलन कायम गर्न अझै संरचनागत कमजोरी रहेको संकेत गर्छ।

दक्षिण कोरियामा निर्माण, कृषि र उत्पादन उद्योगमा करिब ५० हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत छन्। अधिकांश शारीरिक श्रममा संलग्न हुँदा गर्मी बिदा उनीहरूका लागि मानसिक तथा शारीरिक आरामको महत्वपूर्ण अवसर हो।

ललितपुर निवासी २८ वर्षीय बिक्रम लामा, जो अहिले कोरियाको एक कृषि उत्पादन कम्पनीमा कार्यरत छन्, भन्छन्, “मैले कोरियामा काम गर्न थालेको ३ वर्ष भयो। तर, यो गर्मीयाममा बल्ल २ दिन बिदा पाएको छु।”

बिदा पाएका नेपाली श्रमिकहरूले स्थानीय रमणीय स्थल भ्रमण, धार्मिक स्थल अवलोकन, नेपाली समुदायको कार्यक्रम सहभागीता जस्ता रचनात्मक गतिविधिमा सहभागी हुँदै आएको देखिन्छ भने कतिपयले बिदालाई पार्ट टाइम कामको रूपमा प्रयोग गर्दै आर्थिक उपयोगिता बढाइरहेका छन्।

कोरियाको औद्योगिक प्रगति र प्रविधिको विकासले श्रमिकको भूमिकामा वृद्धि गरे पनि, उनीहरूको व्यक्तिगत जीवन र स्वास्थ्यप्रति समान ध्यान दिनुपर्ने आवश्यकता अझै पनि बाकीकै देखिन्छ।

गर्मी बिदाको अवसर केहीले विश्रामका रूपमा उपयोग गर्न पाए पनि धेरैजसो श्रमिक अझैसम्म अधिकारका रूपमा बिदा माग्ने स्थितिमा छैनन्।

नेपाल सरकार तथा आप्रवासी श्रमिक सहायता संस्थाहरूले कोरियाली सरकारसँग श्रमिक हितका यस्ता विषयमा नीतिगत संवाद बढाउनुपर्ने माग गर्दै आएका छन्।