शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालको हिरासत अवधि थप चार दिन लम्बियो
सेयर कारोबारको नाममा ठगी र विश्वासघातको आरोप लागेका दीपेन्द्र अग्रवालको हिरासत अवधि काठमाडौं जिल्ला अदालतले थप चार दिनका लागि लम्ब्याएको छ। शुक्रबार अदालतले अनुसन्धानका लागि उनलाई पुनः चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।
गत सोमबार टोखाबाट पक्राउ परेका अग्रवाललाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि पहिलोपटक तीन दिनको म्याद लिएको थियो। त्यसपछि बिहीबार एक दिनको थप म्याद लिएर अनुसन्धान जारी राखिएको थियो। शुक्रबार पुनः अदालतमा पेश गरेपछि हिरासत अवधि थप गरिएको हो।
अग्रवालमाथि करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ। धनुषाको जनकपुर उपमहानगरपालिका–१ निवासी ६० वर्षीय दिनेशप्रसाद साहलाई सेयर दिने प्रलोभन देखाई सो रकम लिई न सेयर दिएको न रकम फिर्ता गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पीडित साहले अग्रवालको व्यक्तिगत खातामा सो रकम जम्मा गरिसकेको बताइएको छ।
यस प्रकरणमा अग्रवालसँग संलग्न रहेका दुई जना अझै फरार रहेका छन्। प्रहरीले उनीहरूको पहिचान हाल गोप्य राखेको छ।
मोरङको विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ मा बस्दै आएका अग्रवालले सामाजिक सञ्जाल प्रयोग गरी सेयर मूल्यमा हेरफेर गर्ने नियतले हल्ला फैलाउने, सस्तो मूल्यमा सेयर किनेर लगानीकर्तालाई लोभ देखाउने, र अन्ततः उच्च मूल्यमा बिक्री गर्ने कार्य गर्दै आएको प्रहरीको आरोप छ।
प्रहरीले थप अनुसन्धानका क्रममा फरार आरोपीको खोजी कार्य तीव्र बनाएको जनाएको छ।
