२५ प्रतिशत लगानी गरेर १०० प्रतिशत खेलाउनेमाथि सेबोनले बोल्यो धावा, ब्रोकरले बैंक चलाउने दिन सकिए

तु खबर संवाददाता
२०८२ श्रावण ७, बुधबार १३:२८

काठमाडौं । पछिल्ला केही बर्षहरुदेखि नेपालका ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउँदै आएका थिए । ब्रोकर कम्पनीहरुले हुँदै नभएको ब्यालेन्स कृत्तिम रुपमा सिर्जना गरी लगानीकर्ताहरुलाई दिँदै आएका थिए । यही गलत प्रवृत्तिका कारण नेपालको शेयर बजारमा माफियाहरुले चलखेल गर्दै आएका थिए ।

शेयर बजार बढ्नु वा घट्नु लगानीकर्ताहरुको लागि खुशीको खवर होइन । कति मुनाफा खाएर शेयर बिक्री गरी बाहिर निस्कन सकियो त्यसैमा लगानीकर्ताहरुको लाभ र हानीको गणना हुने गर्दछ । तर, नेपालमा शेयर बजारलाई जुवाघर बनाउन भूमिका खेल्ने २५ प्रतिशत धितो राखेर १०० प्रतिशत शेयर कारोबार गर्न पाउने धन्दामाथि नियामक नेपाल धितोपत्र बोर्डले धावा बोलिदिएको छ ।

हिजो सार्वजनिक गरेको धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रममा २५ प्रतिशत कोल्याटर राखेर शेयर कारोबार गर्न पाउने व्यवस्था हटाउने उल्लेख छ । उक्त हटाउने कुरा तत्काल लागू नभए पनि अबको केही दिन पछि नै लागू हुने बोर्ड स्रोतले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठको नियुक्तीका विषयलाई लिएर जे जति टिप्पणीहरु भए, ति सबैको एकमुष्ठ जवाफ दिने गरी २५ प्रतिशत कोल्याटर प्रथाको अन्त्य गर्ने निर्णयले दिएको छ । नेपाल धितोपत्र बोर्डले बजारमा गरेको सुक्ष्म अध्ययन, नेपाल राष्ट्र बैंकले समेत स्वीकार गरेको तर रोक्न नकेको ब्रोकरले बैंक चलाउने धन्दा अब बन्द हुने भएको छ ।

शेयर बजारमा ७५ प्रतिशत उधारोमा कारोबार हुँदै आएको थियो । अर्थात दैनिक २० अर्ब कारोबार हुँदा पनि वास्तविक भुक्तानी रकम भने जम्मा पाँच अर्ब मात्रै हुने गरेका थिए । आज किनेको शेयर आजै बिक्री गरेको अर्को शेयरसँग हिसाब किताब मिलाउने गरी सेटिङ हान्ने यो प्रथाले अब नेपाली शेयर बजारमा बल्ल वास्तविक लगानीको प्रयोग हुनेछ ।

सिएका विद्यार्थी रमेश बराल भन्छन्, ‘एक प्रकारले भन्ने हो भने नेपाली शेयर बजारमा कृत्तिम धनको प्रयोग हुँदै आएको थियो । यसलाई कालोधनको रुपमा पनि व्याख्या गर्न सकिन्छ ।’ ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई २५ लाख रुपैयाँको चेक डिपोजिट गरेकै भरमा एक करोड रुपैयाँसम्मको क्रेडिट दिने गरेका थिए । तर, ब्रोकर कम्पनीहरुलाई त्यसरी क्रेडिट दिने अधिकार कानुन बमोजिम छैन । त्यति मात्रै नभई ब्रोकर कम्पनीसँग हुँदै नभएको लिक्वुडिटी लगानीकर्ताहरुलाई क्रेडिट भन्दै दिँदै गरेका थिए ।

धितोपत्र बोर्डको यस्तो निर्णयबाट सित्तैमा शेयर बजारमा चलखेल गर्न पाइरहेका लगानीहरुले चर्को आलोचना पनि गर्न सक्नछन् । तर, वास्तविक रकमको मात्रै शेयर किनबेच गर्न पाइने भन्ने बोर्डकाले निर्णयले सर्वसाधारण ठगिनबाट जोगिनेछन् भने नव प्रवेशी सोझाहरु फस्ने सम्भावना कम भएर जानेछ ।

नयाँ व्यवस्था लागू हुने वित्तिकै नेपाली शेयर बजारमा गम्भिर प्रभाव पर्ने निश्चित छ । लगानीकर्ताहरुले कम्पनीको आम्दानी, मुनाफा इत्यादि विश्लेषण गरेर मात्रै शेयर बजारमा लगानी गर्नु उत्तम हुनेछ ।