बाग्मती गाउँपालिका गोल्ड कपको उपाधि हरिहरपुरलाई, राईगाउँ पराजित
-चन्द्र घलान
राईगाउँ, ३ फागुन । बाग्मती गाउँपालिका गोल्ड कप प्रतियोगिताको उपाधि हरिहरपुरगढी गाउँपालिका खेलकुद विकास समिति सिन्धुलीले जितेको छ ।

तस्बिर–प्रमोदकुमार राई
बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको खेलमैदानमा आज भएको फाईनल खेलमा राईगाउँ युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै हरिहरपुरगढी विजयी भएको हो । पहिलो हाफसम्म खेल बराबरीमा रोकिएपनि दोस्रो हाफमा गरिएको १ गोल नै निर्णायक गोल बनेको सूर्य माविका प्रधानाध्यापक प्रमोदकुमार राईले तु खबरलाई जानकारी दिए ।
बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेता हरिहरपुरगढीले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता राईगाउँले नगद रु.५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा बाग्मती खेलकुद विकास समिति, बकैया खेलकुद विकास समिति, खानीखोली खेलकुद विकास समिति,हरिहरपुर खेलकुद विकास समिति, श्रृजनशिल समाज, हेटौँडा एकेडेमी, राई गाउँ युवा क्लब, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लब गरि ११ टिमको सहभागिता रहेको थियो ।
