जसपाको समर्थन फिर्ता : सरकार राष्ट्रियसभामा अल्पमतमा, सत्ता गठबन्धन कमजोर
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार थप दबाबमा परेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि सरकार राष्ट्रियसभामा समेत अल्पमतमा परेको छ।
५९ सदस्यीय राष्ट्रियसभामा सरकार समर्थक नेपाली कांग्रेससँग १६ र नेकपा एमालेसँग ११ सिट छन्। साथै, सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग १ सिट मात्रै छ। बहुमतका लागि आवश्यक ३० सिटमा पुग्न यी तीन दलसँग जम्मा २८ सिट मात्रै रहेकाले सरकार अल्पमतमा पुगेको हो।
प्रतिनिधिसभामा जसपाको समर्थन हुँदा सरकारसँग दुई तिहाइ बहुमत नजिकको समर्थन थियो। तर अब त्यो बहुमतको आधारसमेत कमजोर भएको छ। यसअघि नै रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो। जसपाको पछिल्लो निर्णयसँगै सत्ता गठबन्धनमा रहेका दलको संख्या ८ बाट घटेर ६ मा झरेको छ।
जसपाले भूमि विधेयक संशोधन, संघ र प्रदेश सरकार सञ्चालनको स्पष्ट कार्यविधि, संविधान संशोधन, र सत्ता गठबन्धनमा जसपाको पूर्ण सहभागिता लगायतका सर्तहरू अघि सारेको थियो। यिनै मागहरू सम्बोधन नभएको भन्दै जसपाले समर्थन फिर्ता गरेको हो।
जसपाका अनुसार मंगलबार दिनभर पनि प्रधानमन्त्रीको तर्फबाट कुनै औपचारिक सुनुवाइ नभएकोले संसदीय दलको निर्णयमार्फत समर्थन फिर्ता गर्नुपरेको हो।
सरकार अबको दिनमा नीति निर्माण, विधेयक पारित र संसद सञ्चालनमा थप चुनौतीको सामना गर्ने देखिएको छ।



