मधेश सहित ४२ जिल्ला बाढीको जोखिममा सतर्कता अपनाउन आग्रह
मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ सरेसँगै देशभर वर्षा सक्रिय बन्दै गएको छ। यसको प्रभावस्वरूप कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरूमा अघिल्ला दिनको तुलनामा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले देशका ४२ वटा जिल्लामा नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र बाढीको मध्यम स्तरको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा आकस्मिक बाढीको सम्भावना उच्च रहेको बताइएको छ।
त्यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व र पश्चिम, लमजुंङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर र दार्चुला जिल्लामा पनि मध्यम जोखिम रहेको जनाइएको छ। महाशाखाले नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन सुझाव दिएको छ।
यसैबीच, सुक्खा खडेरीको चपेटामा रहेको मधेश प्रदेशमा पनि वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार आज राति मधेश प्रदेशको पूर्वी भूभागमा र भोलि राति पूरै प्रदेशभर हल्कादेखि मध्यम खालको वर्षा हुन सक्छ।
मनसुनको समयमा समेत पर्याप्त पानी नपरेपछि सरकारले मधेशका केही जिल्लालाई सुक्खाग्रस्त घोषणा गरेको छ। वर्षा नपरेका कारण धान रोपाइँ प्रभावित भएको छ भने, पानी नपुगेर खेतहरू चिरा परेका छन्। खानेपानीका मुहानहरू समेत सुक्दै गएपछि मधेशमा पानीको हाहाकार सिर्जना भएको छ। अब हुने सम्भावित वर्षाले केही राहत दिलाउने आशा गरिएको छ।
