दाउन्ने सडकखण्डमा रोड भासियो पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

तु खबर संवाददाता
२०८२ असार २५, बुधबार ०९:५३

पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा रोड भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बर्दघाट–४ स्थित खुर्सानी खोलानजिकको सडक भासिएपछि दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो।

स्थानीय प्रशासनका अनुसार सडक भासिएसँगै वैकल्पिक मार्ग नभएकाले यात्रु र सवारी चालकहरूलाई ठूलो समस्याको सामना गर्नु परेको छ। वर्षाका कारण सडक मर्मत कार्य सुरु गर्न कठिनाइ भएको जनाइएको छ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेका गाडीहरू बर्दघाटको टिसिएनचोकमा रोकिएका छन् भने पूर्वबाट आएका गाडीहरू दुम्किबासमा अड्किएका छन्। सडक खुलाउने प्रयास जारी रहे पनि मौसमका कारण केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र स्थानीय सूचनालाई पालना गर्न प्रहरी प्रशासनले आग्रह गरेको छ।