चुवाखोलामा बेलिब्रिज उद्घाटन,हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो
प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोला कर्णाली नदीमा नेपाली सेनाद्वारा निर्मित बेलिब्रिजको उद्घाटन गर्नुभएको छ। यो पुलको निर्माणसँगै देशका ७७ वटै जिल्लाका सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिएका छन्। पक्की पुल निर्माणका लागि समय लाग्ने भएकाले वैकल्पिक रूपमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको हो।
गत वर्षको चैत अन्तिम साता कर्णाली करिडोर अन्तर्गत २८६ किलोमिटर ट्र्याक खुलेसँगै सिमकोटसम्म सवारीसाधन पुग्न थालेका थिए। तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा प्रत्यक्ष रूपमा जोडिएको थिएन। करिब २६ वर्षअघि, २०५६ सालमा सुरु गरिएको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत सुर्खेतदेखि हुम्लाको सिमकोट हुँदै चीनसँगको हिल्सा नाका जोड्ने लक्ष्य लिइएको थियो।
बाँकेको जमुनियाबाट हिल्सासम्म कुल ५१० किलोमिटर दूरी रहेको यस सडकले कर्णाली प्रदेशलाई उत्तर–दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने विश्वास गरिएको छ। यससँगै वैदेशिक व्यापार विस्तारमा समेत सहयोग पुग्ने छ।
