संघीय सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति पार्टी

तु खबर संवाददाता
२०८२ असार २१, शनिबार २०:३३

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी शर्मा ओली नेतृत्वको सङ्घीय गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार नाउपाको तर्फबाट संघीय मन्त्री बनेका व्यक्तिले भोलि राजीनामा दिनेछन्। हाल नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको भूमिकामा छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा असन्तुष्ट बनेको थियो। त्यसकै प्रतिक्रिया स्वरूप शुक्रबार प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको नाउपाले शनिबार संघीय सरकारलाई पनि समर्थन फिर्ता लिएको घोषणा गरेको हो।