धनौजी गाउँपालिकाका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौं। धनुषा जिल्लाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले गाउँपालिकाका तत्कालीन बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा नाला निर्माण गर्ने र फोेहोर मैला व्यवस्थापन गर्ने शीर्षकबाट एउटै व्यवसायीबाट तीन वटा कम्पनीको टेन्डर भरेको, बिना प्रतिस्पर्धा एउटै कम्पनीसँग कमिसन खाएर प्रतिस्पर्धाबिना काम गरेको लगायतका आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ । ३१ करोड ३४ लाख भन्दा बढी सरकारी पैसा अपचलन गरेको आरोप अख्तियारले अभियोगमा लगाएको छ ।
अनुगमन समितिका पदाधिकारी तथा कर्मचारी, भुक्तानी कार्यमा संलग्न कर्मचारी र निर्माण व्यवसायी समेतको मिलेमतोमा फिल्डमा हुँदै नभएको टाई बिमको कार्य भए गरेको भनी नापी किताब तयार गरी गराई उक्त आइटमको भुक्तानी गरे गराएको अख्तियारको दावी छ । स्थलगत नापजाँच गर्दा टाई बिम राखेको नदेखिएको, प्रथम र दोस्रो रनिङ बिलमा एउटै आइटमको परिमाणमा दोहोरोपना हुने गरी निर्माण व्यवसायीलाई भुक्तानी दिएको, उक्त ठेक्काको म्याद २०७८ चैत २५ सम्म भएको र त्यसपछि म्याद थप नभएको अवस्थामा समेत २०७९ असार २३ देखि २०७९ असोज १५ गते सम्म भनी नभए नगरेका कुरा भए गरेको देखाई झुट्टा कागजात सिर्जना गरे गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा दर्ता गरेको अभियोगमा दावी गरेको छ ।
सो दावी अनुसार, सम्झौता बमोजिमको कार्य सम्पन्न नगरी नगराई योजना अधुरो र अलपत्र अवस्थामा रहेकोमा, पालिकाबाट सो योजना सम्पन्न गर्न कुनै प्रयास गरेको नदेखिएको र निर्माण भएको बजार सेड सटर आरसीसी बिल्डिङ कन्ट्रक्सन प्रयोग प्रचलनमा आएको तथा आउन सक्ने अवस्था नदेखिएको अख्तियारको निश्कर्ष छ ।
