सुदूरपश्चिम सरकारलाई नाउपाको समर्थन फिर्ता
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले फिर्ता लिएको छ। आज दिउँसो बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीको केन्द्रीय निर्णयअनुसार नै समर्थन फिर्ता गरिएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गर्नुभएको थियो। मन्त्री चौधरीमाथि पावर टिल वितरणमा अनियमितता गरेको आरोप लगाइएको छ। तर नाउपाले यस निर्णयलाई आपत्तिजनक ठहर गरेको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्री चौधरीलाई बर्खास्त गर्नु ‘संवैधानिक मर्यादाविपरीत, अपमानजनक र दुर्भाग्यपूर्ण’ कदम भएको टिप्पणी गर्दै अब नाउपा संघ र प्रदेश सबै तहमा प्रतिपक्षमा बस्ने बताउनुभएको छ।
नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभामा चार जना सांसद छन् भने मधेश प्रदेशमा एक, लुम्बिनी प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जना सांसद रहेका छन्। नाउपाको यो निर्णय सुदूरपश्चिम प्रदेश सरकारका लागि चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।
