एनआरएन क्यानडाको अध्यक्षमा किरोज श्रेष्ठको उम्मेदवारी घोषणा

तु खबर संवाददाता
२०८२ असार १९, बिहीबार १९:१९

गैर–आवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष किरोज श्रेष्ठले आगामी २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। ‘गैर–राजनीतिक एनआरएन भन्ने मूल नाराका साथ श्रेष्ठले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।

श्रेष्ठले यसअघि उपाध्यक्षका रूपमा निर्वाचित भई २०२३–२५ कार्यकालमा कार्यरत रहँदा गरेका उल्लेखनीय योगदानहरूको सूची पनि सार्वजनिक गरेका छन्। उक्त कार्यकालमा उनले एनआरएन क्यानडाको इतिहासमै पहिलोपटक संघीय सरकारबाट विभिन्न कार्यक्रमहरूका लागि अनुदान भित्र्याएका थिए। उनका अनुसार, दुई वर्षको अवधिमा करिब ४ लाख ७५ हजार क्यानाडियन डलर बराबरको सरकारी अनुदान प्राप्त गरिएको छ।

त्यस्तै, नेपाली महिला चौतारी, लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लब, वुमन एजुकेशन एण्ड स्किल डेभलपमेन्ट, ब्रदरहुड नेपाली स्पोट्र्स क्लब, ब्रामसागा युनाइटेड लगायतका संघसंस्थाहरूलाई पनि करिब ४ लाख ७५ हजार डलर बराबरको सरकारी सहयोग उनीकै समन्वयमा प्राप्त भएको हो।

श्रेष्ठले सेन्ट्रल रिजनल कमिटीको संयोजक हुँदा सडबरी, ब्यारी, सार्निया, कोर्नवाल, विन्डसर, नाएग्रा लगायतका शहरहरूमा नेपाली राष्ट्रिय दिवसमा सिटी हलहरूमा झन्डा फहराउने कार्यक्रम र निःशुल्क ट्याक्स क्लिनिक सञ्चालन गर्न सफल भएका थिए। लन्डन शहरमा नेपाली राजदूतावासको घुम्ती कन्सुलर सेवा पनि उनको कार्यकालमै सम्भव भएको थियो।

नेपाली क्रिकेटका लागि समेत श्रेष्ठको सक्रियता उल्लेखनीय रहेको छ। उनले क्यानाडा भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई फुड बैंक क्यानाडामा खाद्यान्न दान गराउन समन्वय गरे भने, अन्तर्राष्ट्रिय खेलमा नेपाली समुदायका अग्रजहरूका लागि निःशुल्क भिआइपी सिटको व्यवस्था समेत गरे। नेपाली मूलका खेलाडीहरूका लागि पहिलोपटक चेस प्रतियोगिता आयोजना गराउँदै, विजेतालाई प्रतिष्ठित क्यानेडियन चेस प्रतियोगितामा सहभागी गराउने अवसरसमेत उनले दिलाए।

एनआरएन आईसीसीबाट नेपालीज क्यानेडियन क्रिकेट क्लबको इभेन्टका लागि ४४ हजार ७ सय डलर सहयोग ल्याउने कार्यमा पनि श्रेष्ठ सफल भएका थिए।

इन्जिनियरिङ अध्ययनका लागि क्यानाडा आएका नेपाली विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने उद्देश्यले उनले विभिन्न सेमिनारको आयोजना गरेका थिए।

श्रेष्ठले आगामी कार्यकालमा पनि क्यानडामा रहेका नेपाली समुदायको हितका लागि अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।