भ्याट छल्ने विराटनगरका हार्डवेयर व्यवसायी बियानी कारागारमा

तु खबर संवाददाता
२०८२ असार १९, बिहीबार ०९:५९

विराटनगर–७ का हार्डवेयर व्यवसायी सौरभकुमार बियानी नक्कली बिल प्रयोग गरी तीन आर्थिक वर्षमा एक अर्ब ३१ करोड रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) छलेको पुष्टि भएपछि मोरङ कारागारमा थुनिएको छ। आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मको विवरणमा ठूलो कारोबार देखाउँदै उनले ‘न्यू सौरभ ट्रेडिङ’ र ‘बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’ नामक फर्ममार्फत नक्कली कारोबारी विवरण प्रस्तुत गरेका थिए।

भ्याट छलबुझ सम्बन्धी उजुरीपछि आन्तरिक राजस्व कार्यालय (आराका) विराटनगरले गरेको एक महिनाको अनुसन्धानमा बियानीले चार सटरमा सञ्चालन गर्दै आएको व्यवसायमार्फत कर छल गरेको पुष्टि भएको हो। पहिलो वर्षमा शून्य कारोबार देखाए पनि त्यसपछि २८ करोड र ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिएको थियो।

मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३ (घ) अनुसार कारबाही अघि बढाउँदै, कर बराबरको धरौटी राख्न नसकेपछि उनलाई थुनुवा पूर्जी दिइ मोरङ कारागार पठाइएको हो। बियानीले अन्य व्यक्ति तथा फर्महरूसँग मिलेर नक्कली कारोबार गरेको प्रारम्भिक तथ्य आउन थालेपछि कर कार्यालयले करीब एक दर्जन व्यवसायी फर्म तथा सञ्चालकहरूमाथि पनि अनुसन्धान सुरू गरेको छ। सुनसरीस्थित एक उद्योगबाट भएको भुक्तानी विवरणमार्फत बियानीको कारोबारप्रति शंका भई अनुसन्धान अघि बढाइएको हो।