दलाई लामाको उत्तराधिकारबारे चीनको अडान: अनुमोदन गर्ने अधिकार बेइजिङसँग मात्रै
चीनले वर्तमान दलाई लामाको उत्तराधिकारी चयन गर्ने अधिकार केवल केन्द्र सरकारसँग रहेको दाबी गर्दै पुन: एकपटक तिब्बती धार्मिक मामिलामा आफ्नो नियन्त्रण कायम राख्ने संकेत दिएको छ। बुधबार नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, “दलाई लामाको पुनर्जन्म प्रक्रिया केन्द्रीय सरकारले अनुमोदन गर्नुपर्छ।”
उनको यो भनाइ दलाई लामा तेन्जिन ग्यात्सोले आफ्नो मृत्युपछिको पुनर्जन्ममार्फत उत्तराधिकारी आउने बताएका प्रसंगको प्रतिकृया स्वरूप आएको हो। चीनले लामो समयदेखि वर्तमान दलाई लामालाई पृथकतावादी ठहर गर्दै आएको छ।
१४ औं दलाई लामा तेन्जिन ग्यात्सो सन् १९५९ मा तिब्बतबाट भागेर भारत पुगेका थिए, जब चीनको जनमुक्ति सेनाले तिब्बतलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी तिब्बती सांस्कृतिक र धार्मिक पहिचानको प्रतीक बनेका छन् र विश्वव्यापी रूपमा शान्ति र अहिंसाका प्रवक्ता मानिन्छन्।
चीनले दलाई लामाको परम्परागत पुनर्जन्म प्रणालीलाई स्वीकृति नदिइ १८औं शताब्दीको छिङ वंशकालीन “सुनको कलशबाट चिठ्ठा निकाल्ने” प्रणालीको उल्लेख गर्दै राज्यद्वारा अनुमोदन गरिएको प्रक्रियाबाट मात्रै उत्तराधिकारी तोकिने बताएको छ।
माओ निङले भनिन्, “चीनमा धार्मिक आस्थाको स्वतन्त्रता सुनिश्चित गरिएको छ, तर पुनर्जन्मजस्ता धार्मिक प्रक्रियालाई व्यवस्थित गर्ने नियमहरू पनि छन्।” उनले धार्मिक अभ्यासलाई चिनियाँ समाज र संस्कृतिसँग अनुकूल हुने गरी अघि बढाइनु पर्ने आवश्यकता पनि औंल्याइन्।
दलाई लामाका अनुयायीहरूले तिब्बतको ठूलो स्वायत्तताको पक्षमा आवाज उठाउँदै आएका छन्, जुन क्षेत्र आकारमा दक्षिण अफ्रिकासरह भए पनि चीनको शासनअन्तर्गत छ। यस्ता विषयमा चीनको अडानले तिब्बती समुदाय र अन्तर्राष्ट्रिय सरोकारवालाबीच गहिरिँदो असहमति देखिएको छ।
