मौसमी निगरानीमा नयाँ युग: पाल्पा र उदयपुरमा राडार सञ्चालन

जल तथा मौसम विज्ञान विभागले स्थापना गरेका तीनवटा मौसम राडारमध्ये पाल्पाको रिब्दिकोट डाँडा र उदयपुरको चित्रेडाँडामा रहेका दुई राडार हाल नियमित रूपमा सञ्चालनमा आएका छन् भने सुर्खेतको राडार अझै सञ्चालनमा आउन सकेको छैन।
विभागका अनुसार, जुन १५ देखि यी राडारहरू सञ्चालनमा आएसँगै मनसुनको समयमा मौसमी गतिविधिहरू रियल टाइममा अवलोकन गर्न सजिलो भएको छ। विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीका अनुसार यी राडारहरूले २५० किलोमिटरसम्मको दूरीमा वायुमण्डलीय अवस्था—जस्तै हावाको गति, जलवाष्पको मात्र, चट्याङ, असिना, हिमपात र तीसँग सम्बन्धित बादलको गतिविधि—भिडियोसहित देखाउने क्षमतासमेत राख्दछन्।
प्राप्त तथ्यांक विश्लेषण गरेर विभागले तत्काल वर्षा, हुरीबतास, चट्याङजस्ता सम्भावित मौसमी घटनाको जानकारी प्रवाह गर्न सक्छ, जसले मौसमजन्य विपद् न्यूनिकरणमा सहयोग पुर्याउँछ। यस्ता राडारको तथ्यांक मौसम तथा जलवायु मोडल विकास र अनुसन्धानमा पनि उपयोगी हुन्छ।