देशभर भारी वर्षाको सम्भावना, १२ जिल्ला उच्च सतर्कतामा

काठमाडौं — देशभर सक्रिय बनेको मनसुन प्रणालीका कारण आइतबारदेखि वर्षाको मात्रा उल्लेख्य रूपमा बढेको छ। जल तथा मौसम विज्ञान विभागले साताभर नै लगातार वर्षा हुने प्रक्षेपण गर्दै, केही स्थानमा भीषण तथा अति भीषण वर्षा दोहोरिन सक्ने पूर्वानुमान गरेको छ।
शनिबार रातिदेखि स्याउलीवाङ, हनुमानगढी, गढवा र कैलालीजस्ता स्थानहरूमा उच्च मात्रामा वर्षा मापन भइसकेको विभागले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको न्यूनचापीय रेखाका कारण बुधबारपछि बागमती, कोशी र मधेश प्रदेशमा पनि भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १२ जिल्लालाई उच्च जोखिम क्षेत्र घोषित गर्दै सतर्कता अपनाउन अपिल गरेको छ। बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, सल्यान, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लाका नागरिकहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न, नदी किनार र डुबान सम्भावित क्षेत्रबाट टाढा रहन प्राधिकरणले आग्रह गरेको छ।