सुनसरीमा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ असार १५, आईतवार १०:३२

काठमाडौं । सुनसरीमा तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोक्किंदा एकै तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

सुनसरीको चतरा–कान्छी चोक भित्रि सडक खण्डमा पर्ने रामधुनी नगरपालिका–७ बासबिटी कालाबञ्जारबाट कान्छी तोकतर्फ जाँदै गरेको १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल र सोको विपरीत दिशातर्फ जाँदै गरेको ‘को ३३ प ९६०५’ नम्बरको मोटरसाइकल आपसमा ठोक्किंदा दुर्घटना भएको हो।

दुर्घटनामा परि ५८६४ नम्बरको मोटरसाइकल चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी र उनका छोरा ९ वर्षीय प्रनिष चौधरीका साथै ९६०५ नम्बरको मोटरसाइकलका चालक इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादवको दुर्घटनापछि उपचारको क्रममा ज्यान गएको हो।

दुर्घटनामा परेर रामधुनी–६ की ३२ वर्षीय प्रतीक्षा चोधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर रूपले घाइते भएका छन्। उनीहरूको बीपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।