आज असार १५ : राष्ट्रिय धान दिवस

तु खबर संवाददाता
२०८२ असार १५, आईतवार ०८:२०

कृषि प्रधान देश नेपालमा धान उत्पादनलाई महत्त्व दिँदै २०६२ सालदेखि असार १५ लाई धान दिवसको रूपमा मनाउन थालिएको हो। वर्षभरको खाद्यान्नको जोहो गर्ने प्रमुख माध्यमको रूपमा किसान असार महिनामा धान रोपाइँमा व्यस्त हुन्छन्।यसै दिनलाई नेपालमा राष्ट्रिय धान दिवसको रूपमा पनि मनाइन्छ।

असार १५ नेपाली समाजमा विशेष सांस्कृतिक र कृषिसँग जोडिएको महत्त्वपूर्ण दिन हो। परम्पराअनुसार, आजको दिन दही र चिउरा खाने चलन छ, जुन शरीरमा शीतलता र शक्ति सञ्चय होस् भन्ने विश्वासका साथ गरिन्छ। रोपाईंको चटारोले थकित किसानहरूका लागि यो एक सान्त्वना दिने खुराक मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि लिइन्छ।

असार १५ मा गाउँघरका खेतहरूमा छुपुछुपु हिलोमा रोपाईं गर्ने, असारे भाका गाउँदै रमाइलो गरेका दृश्यहरू समेत देख्न पाइन्छ। खेतीपातीमा लागेका मात्र नभई अन्य पेसामा संलग्न नेपालीहरूले पनि परम्परा अनुरूप दही चिउरा खाएर यो दिन मनाउने गरिन्छ।