इरानबाट ८८ हजार अफगान आप्रवासीहरूलाई देश निकाला

तु खबर संवाददाता
२०८२ असार १४, शनिबार २१:०९

इरानमा कागजपत्रविहीन अफगान आप्रवासीहरूमाथिको कडाइ तीव्र भइरहेका बेला जुन १८ देखि २६ सम्मको एक साता भित्र मात्र ८८ हजार ३०८ अफगान नागरिकहरूलाई जबरजस्ती अफगानिस्तान फिर्ता पठाइएको छ। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जुन २८ मा अद्यावधिक गरेको तथ्याङ्कअनुसार, यो संख्या अघिल्लो साता भन्दा झण्डै तीन गुणाले वृद्धि भएको छ। अघिल्लो हप्तामा फर्किएका संख्या ३२,८४४ थियो।

यो क्रूर निर्वासन अभियानले मानवीय संकटलाई झनै गम्भीर बनाइदिएको छ। फर्काइएका व्यक्तिमध्ये ११ प्रतिशतले मात्र मानवीय सहायता प्राप्त गरेका छन्। बाँकी अधिकांश व्यक्ति अत्यन्त सीमित स्रोतसाधनमा, घरबारविहीन अवस्थामै सीमावर्ती क्षेत्रमा थुनिएका छन्। रिपोर्टअनुसार ५५ प्रतिशत व्यक्तिहरू जबरजस्ती निर्वासित गरिएका थिए भने ६४ प्रतिशतले परिवारका रूपमा यात्रा गरेका थिए, जसले महिला र बालबालिकामा गम्भीर असर गरेको छ।

विशेष गरी इरान–इजरायल बीचको पछिल्लो तनावपश्चात,इरान सरकारले अफगान शरणार्थीहरूमाथि कठोर नीतिहरू लागू गर्दै सम्पत्ति पट्टा सम्झौता रद्द गर्न र घरधनीहरूलाई उनीहरूलाई आश्रय नदिन चेतावनी दिन थालेको छ। यसैबीच, अफगान आप्रवासीहरूमाथिको गिरफ्तारी पनि बढ्दै गएको छ,

केवल इरानमा होइन, पाकिस्तानमा पनि अफगान शरणार्थीहरूमाथि कडाइ जारी छ। खासगरी खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा बिना पूर्वसूचना वा कानुनी सहाराको सामूहिक गिरफ्तारी, नजरबन्द र निर्वासन भइरहेको मानव अधिकार समूहहरूले चेतावनी दिएका छन्।

विश्व स्वास्थ्य संगठनले तत्काल अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेका छन्। सीमामा अत्यधिक भीड, सीमित स्वास्थ्य तथा राहत सेवा, र बिग्रँदो परिस्थितिका बीच निर्वासित अफगानहरू गम्भीर स्वास्थ्य, भोकमरी, र सुरक्षा संकटको सामना गरिरहेका छन्। यसले केवल अफगानिस्तानको अवस्था होइन, सम्पूर्ण क्षेत्रीय स्थायित्वमा नै खतरा उत्पन्न गराएको छ।