इजरायलबाट फर्कन ८८५ नेपालीले नाम दर्ता: परराष्ट्रमन्त्री राणा

तु खबर संवाददाता
२०८२ असार ९, सोमबार १५:०५

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन इच्छुक ८८५ जनाले नाम दर्ता गराइसकेको जानकारी दिएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै मन्त्री राणाले इजरायल–इरानबीच जारी युद्धका कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूको विवरण संकलन गर्न सरकारले अनलाइन पोर्टलमार्फत प्रक्रिया सुरु गरेको बताइन्।

उनका अनुसार हालसम्म ८८५ जनाले उक्त पोर्टलमा आफ्नो विवरण भरेका छन्। युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री राणाले भनिन्, ‘१३ जुनदेखि नै हामी प्रेस विज्ञप्ति जारी गर्‍यौं। त्यसपछि जुन १५ मा प्रेस एड्भाइजरी प्रकाशित गरेर इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौं।’

मन्त्री राणाले नियमित रुपमा सम्बन्धित देशमा रहेका नेपाली दूतावासका राजदूतहरूसँग सम्पर्कमा रही नेपालीहरूको अवस्थाबारे जानकारी लिइरहेको र अन्य देशमा रहेका राजदूतहरूसँग पनि नागरिकको सुरक्षासम्बन्धी छलफल भइरहेको जानकारी दिइन्।

उनले थप भनिन्, ‘जुन १७ गतेदेखि अनलाइन पोर्टल खोलेर विवरण संकलन सुरु गरेका छौं। अहिले सो पोर्टलमा ८८५ जनाले दर्ता गरिसक्नु भएको छ। अबको केही दिनमा ‘श्रम संसार’ मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज गर्ने तयारी भइरहेको छ।’

साथै, मन्त्री राणाले गैरकानुनी रुपमा विदेशमा कार्यरत नेपाली नागरिकलाई वैधानिक बनाउन कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी पनि दिइन्।

इजरायल–गाँजा युद्धको क्रममा बेपत्ता भएका नेपाली विद्यार्थी वीपिन जोशीको रिहाइका लागि समेत सरकार प्रयासरत रहेको मन्त्री राणाले संसदमा जानकारी गराइन्।