खुट्टाको औठा छाप लगाएर सुदूरपश्चिममा सामाजिक सुरक्षा भत्ता झ्वाम

काठमाडौं । कैलाली जिल्लाको जानकी गाउँपालिका –९ मा खुट्टाकौ औठा छाप लगायर सामाजिक सुरक्षा भत्ता अपचलन गरेको घटना बाहिरिएको छ । गाउँ समाजका सोझा साझा जनतालाई तत्कालिन वडा न.९ का वडाध्यक्ष खगेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाले आपसी मिलेमितोमा नक्कली कागजात बनाएर करिव ८ करोड रुपैयाँ अपचलन गरेको पाइएको हो ।
वडाध्यक्ष भण्डारी र वडा सचिव बुढाले उमेर नपुगेका व्यक्तिलाई, एकल महिला, मृत्यु भइसकेका नागरिकहरुका सरकार अभिलेखहरुमा गढबढी गरेर रकम अपचलन गरेका थिए । सोही हर्कतका कारण गाउँका केही नागरिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा दायर गरेका थिए । अख्तियारले पनि मुद्दापरेपछि गाउँपालिकाका नागरिकहरुको सरकारी अभिलेखहरु संकलन गरेर लामो समयदेखि छानबिन गरीरहेको छ । तर, अहिलेसम्म मुद्दा दर्ता गर्न सकेको छैन् ।
‘सामाजिक सुरक्षा भत्ता नपाउनुपर्ने व्यक्तिले पाएको, पाउनुपर्ने व्यक्तिले नपाएको वा अन्य अनियमितता भएको विषयमा वा ऐन, नियमावली र यस कार्यविधिबमोजिमको सुविधा प्राप्त गर्ने उद्देश्यले झुटा विवरण पेस गरी भत्ताका लागि परिचयपत्र प्राप्त गरेको वा दोहोरो भुक्तानी लिएको पाइए स्थानीय तहले भत्ता रोक्का गर्न, निश्चित समयसम्मका लागि परिचयपत्र स्थगित गर्न वा रद्द गर्न र हिनामिना वा दुरुपयोग गरेको वा कानुनबमोजिम भत्ता नपाउने व्यक्तिलाई भत्ता दिएको ठहरे स्थानीय तहको न्यायिक समितिले आवश्यक कारबाही गरी भुक्तानी भइसकेको रकम असुलउपर गर्ने र बिगोबमोजिम जरिबाना गर्न सक्नेछ,’ कार्यविधिको दफा ३३ को उपदफा ३ मा भनिएको छ।