अमेरिकाबाट कम्तिमा ४२ नेपाली डिपोर्ट, आज काठमाडौं आउँदै

तु खबर संवाददाता
२०८२ जेष्ठ २५, आईतवार ०८:३८

आइतबार अमेरिकाबाट चार्टड विमानबाट एकैपटक ४२ जनाभन्दा बढी नेपाली डिपोर्ट गरिने भएको छ । नेपालको अध्यागमन श्रोतका अनुशार स्थानीय समय अनुशार आइतबार दिउसो ४ बजे चार्टर्ड विमान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो पटक हो । सुरुमा अध्यागमन विभागलाई ४८ जना नेपाली डिपोर्ट हुने प्रारम्भिक जानकारी प्राप्त भएपनि अन्तिम समयमा केही व्यक्तिको यात्रा रोकिएको विभागले जनाएको छ ।

यात्रा के कारणले रोकिएको भन्ने प्रष्ट छैन । साथै कतिजनाको यात्रा रोकिएको भन्ने पनि प्रष्ट छैन । यद्यपी अधयागमन विभाग श्रोतले ३ देखि ६ जनासम्मको यात्रा रोएिको र डिपोर्ट हुने नेपालीहरुको संख्या ४२ देखि ४५ जनासम्म हुने बताएको छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्यूरोको जिम्मा लगाइनेछ। ब्यूरोले हालसम्म अमेरिकाबाट डिपोर्ट भएका कसैलाई पनि लामो समयसम्म सोधपुछका लागि हिरासतमा राखेको छैन। उनीहरुलाई सामान्य सोधपुछपछि घर पठाइने गरिएको छ ।

सम्भवतः इतिहासमै पहिलो पटक यति धेरै नेपाली एकैपटक डिपोर्ट भएको अध्यागमन विभागले जनाएको छ। अध्यागमन विभागले डिपोर्ट हुने व्यक्तिहरूमा महिला र पुरुषको संख्या पनि खुलाएको छैन।तर उनीहरुमध्ये ठूलो संख्या दलाललाई १ लाख डलरसम्म तिरेर मेक्सिकोहुँदै विना भिसा अमेरिका छिर्नेहरुको समेत रहेको जनाइएको छ ।