संसारका सबैभन्दा गरिब देशहरु चीनलाई हालसम्मकै उच्च ऋण भुक्तानी गर्नुपर्ने अवस्थामा
विश्वका सबैभन्दा गरिब देशहरुले सन् २०२५ मा चीनलाई हालसम्मकै सबैभन्दा धेरै ऋण भुक्तानी गर्नुपर्ने देखिएको छ । चीन अब विकासशील देशहरुलाई ऋण दिने भूमिकाबाट ऋण असुल गर्ने भूमिकामा सर्न थालेको छ ।
एक दशकअघि बेइजिङको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को उत्कर्षको अवधिमा दिइएका ऋणहरुको भुक्तानी चीनले अहिले असुल्न लागेको सिड्नीस्थित लोवी इन्स्टिच्युट नामक थिंक ट्यांकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख छ ।
चिनियाँ राष्ट्रपति सी चीनफिङले सन् २०१३ मा सुरु गरेको बीआरआई पहलअन्तर्गत बेइजिङले एसिया, युरोप र अफ्रिकालाई जोड्ने पूर्वाधार निर्माण गर्न अरबौं डलर ऋण दिएको थियो । साथै, बीआरआईमार्फत चीनले व्यापार र प्रभाव विस्तार गर्ने लक्ष्य पनि राखेको थियो ।
सन् २०२५ मा विकासशील देशहरुले चीनलाई फिर्ता गर्नुपर्ने ३५ अर्ब डलरको ऋण भुक्तानीमध्ये ७५ वटा संसारका सबैभन्दा गरिब र असुरक्षित देशहरुले २२ अर्ब डलर तिर्नुपर्ने इन्स्टिच्युटको रिपोर्टमा उल्लेख छ । उक्त ऋण भुक्तानीका कारण यी देशहरुको स्वास्थ्य र शिक्षा खर्चलाई जोखिममा पार्ने बताइएको छ ।
यो दशकको बाँकी समयका लागि चीनले विकासशील विश्वको बैंकरभन्दा बढी ऋण संकलकको भूमिका निभाउने रिपोर्टका लेखकले बताएका छन् । रिपोर्टअनुसार, ५४ विकासशील देशहरुले चीनलाई गर्नुपर्ने ऋण भुक्तानी पश्चिममा द्विपक्षीय ऋणदाताहरुलाई गर्नुपर्ने कुल भुक्तानीभन्दा बढी हुने देखिन्छ ।
