कसैको प्रेम ईतिहास बन्छ, कसैको बेडरुमसम्म पुगेर अन्त्य
सधैं तिम्रो जिन्दगीको खास बन्न सकुँ
सुख–दुःख जे भए नि आस बन्न सकुँ
मृत्युपछि के हुन्छ त्यो त मलाई थाहा छैन
बाँचुन्जेल तिमी धड्कन, म श्वास बन्न सकुँ ।
(समर्पण मेरी जीवनसाथी सविलाई)
–चन्द्र घलान
मकवानपुर, २ जेठ । आज ‘प्रणय दिवस’ अर्थात भ्यालेन्टाईन्स् डे, पादरी भ्यालेन्टाईनले प्रेमको लागि बलिदान दिएको सम्झनाको दिन स्वरुप विश्वभर मनाइदैँछ । प्रेम दिवस भन्ने बित्तिकै एक हप्ता अगाडि नै सुरु हुने सप्ताहव्यापी प्रपोज डे, चक्लेट डे, टेडी डे, हग डे लगायतका यावत डेहरुलाई प्रेमिल जोडीहरुले सम्झने गर्छन् अनि त्यसलाई मनाउँदै फ्रेब्रुअरी १४ का दिन भ्यालेन्टाईन्स् डे अझ धुमधाम रुपमा मनाउने गर्छन् ।

चन्द्र घलान
आजकै दिनमा सामाजिक सञ्जालहरु प्रेमका कुराहरुले भरिभराउ हुन्छ । टेलिकमको नाफाले आकाश छुन्छ अनि बजार, कफि सप, रेष्टुरेन्ट र नाईट क्लबहरुमा प्रेमको खुलेआम र निर्लज्ज व्यापार हुन्छ । कतिपय जोडीको प्रेम दिवस एकअर्का बिना बाँच्न नसक्ने र छोडेमा मर्ने घुर्कीका बिच सुरु भएर बेडरुममा गएर अन्त्य हुन्छ । विवाहपछिको पवित्र प्रेमलापको रोमाञ्चक कडी बेडरुममै सकिएपछि धेरै जोडीहरु एकअर्कालाई देख्दा पनि नचिनेझैँ गरेर हिँड्न थाल्छन् । त्यस्ता केही जोडीहरुको प्रेममात्र सफल हुन्छन् जो आवेगमा बहकिए पनि एकअर्काको साथ र प्रेमलाई नै बढी महत्व दिन्छन् । त्यो पलमा भएको गल्तीलाई पनि उनीहरु प्रेमको नाम दिन सक्छन्, त्यो सम्बन्धको सम्मान गर्न सक्छन् । उनी जिन्दगीमा हुनु र नहुनुको खास अर्थ बुझ्न सक्ने र प्रेमको वास्तविकता र जीन्दगीको सत्यता बुझ्नेहरुले नै प्रेमलाई निभाउन सक्षम हुन्छन् चाहे त्यो प्रेममा मिलन होस् वा बिछोड ।
प्रेमको सुरुवात सुखद भएपनि प्राय प्रेम वियोगमा गएर सकिन्छ । संसारका हरेक प्रेमकथाले यही बताउँछ । लैला मजनु, मुना मदन, रोमियो जुलियट जस्ता प्रेमपात्रहरुको प्रेम वियोगमै अन्त्य भएको छ तर वियोगका बिचपनि उनीहरु अजरअमर जोडी बनेका छन् । सबै प्रेम वियोगमा नै सकिन्छ भन्ने छैन तर त्यसको वास्तविकता पहिल्याउन सक्नुपर्छ । यदि मृत्यूलाई वियोग मान्ने हो भने चाहिँ प्रेम साँच्चै वियोगमा नै सकिन्छ किन कि हरेकले मर्नुपर्छ । तर मृत्यूलाई वियोग नठान्ने हो भने सबैको प्रेम वियोगमा अवश्य सकिन्न ।

प्रेम दिवसका दिन स–साना भाइबहिनीहरुको बच्चावाला प्रेम देखेर धेरैलाई अनौठो लाग्न पनि सक्छ । अनि कतिपयको लागि सिंगल हुनुको पिडा र आरिस पनि । तर यो दिनको महत्व बुझ्नु जरुरी छ । जसले यस दिनको महत्व बुझ्छन् उनीहरुका लागि सधैँ प्रेम दिवस हुन्छ तर नबुझ्नेहरुका लागि आज एक दिनको प्रेम, बेड अनि ब्रेक अप नै प्रेम दिवस बन्छ । त्यसैले यसको ऐतिहासिक पृष्ठभूमिको थोरै चर्चा गरौँ ।
इटलीका सम्राट क्लाउडिअस द्वित्तियले नागरिक विवाहमा प्रतिबन्ध लगाउँदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रुपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाईन्छ ।
सम्राट क्लाउडिअस द्वित्तियलले भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दि बनाएर राखेको समयमा बन्दिगृहको एक सिपाहीकी छोरीसंग उनको प्रेम रहन गयो । पादरीले मृत्यु अगाडी आफ्नी प्रेमिकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनि आफूलाई प्रेषककारुपमा गरिएको एउटा संबोधन नै ‘भ्यालेन्टाईन’ हो आज त्यहि संबोधन मानव समूदाय अनि प्रेमीहरुले हृदय निकट ब्यक्तिलाई भन्ने गर्छन् । अन िआफ्ना भ्यालेन्टाईनकारुपमा सम्झिने गर्दछन् । उनैको सम्झनामा आजको यो दिनलाई खास बनाउने चेष्टा गर्दछन् ।
संसारमा कोही बिना कोही तुरुन्तै मरिहाल्ने वा बाँच्ने भन्ने हुँदैन तर माया गर्ने आफ्नो कोही खास छ भने मृत्यूको क्षणमा पनि बाँच्ने साहसले जन्म लिन्छ अनि जीवन जिउँदै गर्दा जीवन जिउने आधार बन्छ । मृत्यू अटल हो, एकअर्का बिना नै एक्लै संसार छोड्नुपर्छ । त्यस्ता भाग्यमानी कमै होलान् जो एकैपटक स्वाश त्याग्छन् । तर एउटाले संसार छोडे पनि बाँच्नेले मायाको दियो निभ्न दिनुहुँदैन । संगै बिताएका पलहरुलाई समेटेर मायाले नै एउटा घर सिर्जना गर्न सक्नुपर्छ जसले यो संसारमा माया र कोही हुनुको आभाष सदैव दिलाउन सकोस् ।
कहिले आफु रिसाउने अनि कहिले उनी । कहिले उनले फकाउने कहिले आफुले । एउटा आगो हुँदा अर्को पानी हुन सक्नुपर्छ । प्रेम तब मात्र सफल हुन्छ जब माया गर्नेहरुले एकअर्कालाई बुझ्न सक्छन् । सानै उमेरमा माया गर्दा बुझ्नै नसकिने भन्ने हुँदैन , धेरैका बालापनमै गरेका प्रेम पनि सफल भएका छन् । त्यो तब मात्र सफल हुन्छ जब एकलेअर्कालाई बुझेको होस् । एकअर्काप्रति विश्वास र माया होस् । तर किशोरावस्थामै हामीले सोचेजस्तो प्रेम, कहिले नसकिने यात्रा, एकअर्काबिना मर्ने कसम, आत्माहत्या र सेक्स भनेको देखावटी, बनावटी र चलचित्रका प्रभावहरु हुन् जसमा हिरो उड्न सक्छ, हिरोनीलाई जसरी भए पनि बचाउन सक्छ, हरेक पल हसाउन सक्छ । यदि चलचित्रका रोमाण्टिक दृश्यले यति प्रभाव पार्छ भने त्यसमा देखाईने कच्चा प्रेमको परिणाम, जिन्दगीको अँध्यारा पाटोलाई किन हामी मनमा राख्दैनौँ ?

विवाह नै प्रेम सफताको प्रतिक होईन तर प्रेम सफलताको खुड्किलो भने अवश्य हो । विवाहको महत्वले प्रेमको महत्वमा फुलबुट्टा भर्छ त्यसैले विवाह अगाडि मेरो राजा, मेरो प्रेमी, मेरी उनी भनेर सामाजिक संजालमा फोटो नै चिप्काउनु त्यति बुद्धिमानी हुँदैन । किन कि भोलि कसैले देखेको छैन । तपाई कति पटक मेरी, मेरो भनेर फोटो बदल्नुहुन्छ ? फोटो त्यो बेला पोष्ट गरौँ जोसँग तपाईको विवाह हुन्छ । त्यो भन्दा अगाडि संगै तस्बिर लिएपनि सार्वजनिक नगर्दा उत्तम हुन्छ ।
यो प्रेमदिवसमा पनि धेरैका तस्बिरहरु भाईरल हुनेछन् तर कुनै मेडिकल पसलले आज कण्डमको व्यापार ह्वात्तै बढ्यो भनेर दिएको अभिव्यक्ति भाइरल हुने दिन नबनोस् । बरु तपाईँको प्रेमपछिको विवाह अनि विवाहपछिको प्रेम भाईरल बनोस्, माया अझ गाढा बनोस्, आमाबुवा र श्रीमान श्रीमतीप्रतिको प्रेमको चर्चा चलोस् । फगत एउटा दुःखद कथा कहिले नबनोस् । प्रेम दिवसको हार्दिक शुभकामना ।
