ईश्वरपुरमा नेपाल तामाङ घेदुङको नगर कमिटि गठन, ल्होछार मेला हुने
–राजु तामाङ
सर्लाही, २८ माघ । सर्लाहीको इश्वरपुर नगरपालिकामा शनिबार नेपाल तामाङ घेदुङको नगर कमिटि गठन भएको छ । सागरनाथ बौद्ध छ्योइलिङ गुम्बाको प्राङ्गणमा बसेको भेलाले जनक लाल स्याङबाको अध्यक्षमा १३ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा अर्जुन गोले, कोषाध्यक्षमा तिर्थ माया स्याङबा, सचिवमा सुरेन्द्र गोले र अन्य सदस्य रहेका छन् । घेदुङको जिल्ला अध्यक्ष हिराकाजी योञ्जनको सभाध्यक्षमा बसेको भेलामा केन्द्रीय सदस्य अर्जुन योञ्जनको प्रमुख आतिथ्यता र घेदुङकै पुर्व केन्द्रीय सदस्य छत्र बहादुर डुम्जन, जिल्ला उपाध्यक्ष जयमान पाख्रिन, इश्वरपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टंक बहादुर रुम्बा र तामाङ सञ्चार समूह सर्लाहीका अध्यक्ष तथा हरिवन नगर कमिटिका सचिव राजु लो तामाङले निर्वाचित नगर कमिटिलाई शुभकामना व्यक्त गरेका थिए ।
कमिटिले यही फागुन १० गते देखि १५ गते सम्म तामाङ समुदायको महान साँस्कृतिक राष्ट्रिय पर्व २८५४ औं खि÷नागी ल्हो सोनाम ल्होछारको अवसरमा सागरनाथ बौद्ध छ्योइलिङ गुम्बाको सहयोगार्थ ल्होछार साँस्कृतिक मेलाको आयोजना गर्ने निर्णय समेत गरेको छ । मेला आयोजनाको लागि मेला संयोजन गर्न सुनिल कुमार मोक्तानलाई जिम्मेवारी दिइएको छ ।

