प्रदेश ३ मा आज उपसभामुख चयन हुने, राधिका तामाङ निश्चित
मकवानपुर, २८ माघ । प्रदेश नम्बर ३ मा आईतबार उपसभामुखको निर्वाचन हुँदैछ । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालयमा शनिबार बसेको प्रदेशसभाको बैठकले आज दिनको २ बजे उपसभामुख पदको निर्वाचन सञ्चालन गर्ने कार्यतालिका स्वीकृत गरेको थियो ।
आज बिहान ११ देखि १२ बजेको बीचमा उपसभामुख पदको उम्मेदवारी दर्ता गर्ने र २ बजेपछि प्रदेशसभाको बैठकमा निर्वाचनको प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको प्रदेशसभा सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ चयन हुने निश्चित भएको छ । उनी पुर्वराज्यमन्त्री समेत हुन् । उनी नुवाकोटको प्रतिनिधिसभाबाट निर्वाचित भएकी हुन् ।
प्रदेश नम्बर ३ मा एमाले एक्लैको मात्र बहुमत र वाम गठबन्धन समेत मिल्दा सबैभन्दा बढी मत हुने भएका कारण उपसभामुख राधिका तामाङनै बन्ने निश्चित छ । एमालेको ५८, माओवादी केन्द्रको २३ र बाँकी २९ सांसद काँग्रेसका रहेका छन् ।
यस अघि नै सभामुखमा शनिबार नै सानुकुमार श्रेष्ठ निर्विरोध भइसकेका छन् । उनले सपथ ग्रहण र पदभार ग्रहण समेत गरिसकेका छन् । साथै नेकपा एमालेको संसदीय दलको नेतामा डोरमणी पौडेल चयन भएसंगै मुख्यमन्त्री पनि पौडेलनै हुने निश्चित बनेको छ ।
