नवनिर्वाचित सभामुख श्रेष्ठद्वारा पदबहाली

तु खबर संवाददाता
२०७४ माघ २७, शनिबार १९:०८

हेटौँडा, २७ माघ । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका नवनिर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई आज अपराह्न हेटौँडामा सभामुख पदको शपथ ग्रहण गराएकी छिन।

श्रेष्ठले प्रदेशसभा सचिवालयमा आजै साँझ पद बहाली पनि गरेका  छन् । उनले त्यस अवसरमा मुलुकको संविधानलाई अक्षरशः आत्मसात् गर्दै दिगो शान्ति र स्थायित्वका लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेर प्रदेशसभाको गरिमालाई उच्च पार्ने कार्यमा आफ्नो दृढता रहने धारणा व्यक्त गरे ।

यसैबीच ३ नं प्रदेशसभाको आज बसेको बैठकले सभामुखका लागि एकमात्र उम्मेदवार सानुकुमार श्रेष्ठलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

उक्त प्रदेशसभाको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले निर्वाचन तालिका प्रस्तुत गरेका थिए। सोही बैठकमा सभामुखको निर्वाचनको क्रममा प्रस्तावक बनेका  नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शालिकराम जमरकट्टेल र समर्थक रहेका नेकपा एमालेका प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर निवासी ५८ वर्षीय श्रेष्ठ तत्कालीन काठमाडौँ जिविसको सभापति पनि थिए ।

यसैगरी, आजै बसेको प्रदेशसभाको बैठकले भोलि माघ २८ गते दिनको २ बजे उपसभामुख पदको निर्वाचन सञ्चालन गर्ने कार्यतालिका स्वीकृत गरेको प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिएका छन ।

भोलि माघ २८ गते दिनको ११ देखि १२ बजेको बीचमा उपसभामुख पदको उम्मेदवारी दर्ता गर्ने र २ बजेपछि प्रदेशसभाको बैठकमा निर्वाचनको प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*