प्रदेश ३ को सभामुखमा सानुकुमार श्रेष्ठ निर्विरोध,आजै शपथ ग्रहण
मकवानपुर, २७ माघ । प्रदेश नम्बर ३ को सभामुखमा नेकपा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध भएका छन् । ३ नम्बर प्रदेश अन्तर्गत मकवानपुरको हेटौँडामा आज निर्वाचन गर्ने भएता पनि तोकिएको समयअवधिमा श्रेष्ठको मात्र उम्मेदावारी परेपछि उनी निर्विरोध भएका हुन् ।
आज बस्ने प्रदेशसभा बैठकले सभामुख चयन गर्ने कार्यसूचि थियो तर बैठक सुरु हुनु अघि नै उनी निर्विरोध भएका हुन् । उनको प्रस्तावकमा माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमाले प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहेका छन् ।
उम्मेदवारी दर्ता गर्ने समय १ बजेसम्म थियो । प्रदेश सचिवालयले साढे १ बजे अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । ३ बजे बस्ने प्रदेशसभा बैठकले सभामुखको औपचारितक निर्णय गर्नेछ ।
सभामुख चयन भएसँगै श्रेष्ठले आज साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् । श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराउनेछन् । सपथग्रहणका लागि अपरान्ह ५ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
श्रेष्ठ एमालेका पोलिटब्यूरो सदस्य हुन् । मुख्यमन्त्रीका दाबेदार समेत रहेका श्रेष्ठलाई सभामुख बनाउने गरि ब्याक गरिएको थियो ।
त्यस्तै उपसभामुखमा नेकपा माओवादी केन्द्रकी राधिका तामाङ चयन हुने भएकी छिन् । उनी पुर्वराज्यमन्त्री समेत हुन् । उनी नुवाकोटको प्रतिनिधिसभाबाट निर्वाचित भएकी हुन् ।
प्रदेश नम्बर ३ मा एमाले एक्लैको मात्र बहुमत भएका कारण उपसभामुख राधिका तामाङनै बन्ने निश्चित छ । एमालेको ५८, माओवादी केन्द्रको २३ र बाँकी २९ सांसद काँग्रेसका रहेका छन् ।
साथै नेकपा एमालेको संसदीय दलको नेतामा डोरमणी पौडेल चयन भएसंगै मुख्यमन्त्री पनि पौडेलनै हुने निश्चित बनेको छ ।
