बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती विजयी
मकवानपुर, २६ माघ । शुक्रबारदेखि सुरु भएको ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा बाग्मती गाउँपालिका विजयी भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती खेलकुद विकास समितिले १–० गोल अन्तरमा बकैया खेलकुद विकास समितिलाई हराएको त्यहाँस्थित सूर्य माविका प्रधानाध्यापक प्रमोद कुमार राईले जानकारी दिए । पहिलो हाफसम्म बराबरमा रोकिएको खेल दोस्रो हाफको १८ औँ मिनेटमा बाग्मतीका तर्फबाट जर्सी नम्बर ८ का खेलाडी बाबुराम माझीले एक गोल गरेसँगै बाग्मतीको पक्षमा आयो । अन्तिमसम्मै बकैयाकातर्फबाट कुनै गोल हुन नसकेपछि बाग्मती विजयी भएको हो ।
खेलको म्यान अफ दि म्याच पनि माझी नै घोषित भएका छन् । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहालले खेलका मुख्य रेफ्रिलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा बाग्मति खेलकुद विकास समिति, बकैया खेलकुद विकास समिति, खानीखोली खेलकुद विकास समिति,हरिहरपुर खेलकुद विकास समिति, श्रृजनशिल समाज, हेटौँडा एकेडेमी, राई गाउँ युवा क्लब, कमला देवी युवा क्लब, पदमपोखरी स्पोर्ट टिम, न्यू स्टार रातोमाटे र हिमालयन युवा क्लबको सहभागी छन् ।
बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन ५ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद रु. १ लाखसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उपविजेताले नगद रु.५० हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै गोल कप र उत्कृष्ट खेलाडीलाई नगद ५–५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको खेल बाग्मती गाउँपालिकाको फापरबारीमा अवस्थित जनता उच्च माविको चौरमा भइरहेको बाग्मती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले जानकारी दिए ।
