मकवानपुरमा कुपोषणका कारण चार बालबालिकाको मृत्यु

मकवानपुर । कुपोषणका कारण मकवानपुरमा चार बालबालिकाको मृत्यु भएको छ । जिल्लामा चालु आर्थिक वर्ष २०८०–०८१ को साउन महिनादेखि हालसम्म कुपोषणका कारण चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ वर्ष मुनिाका २ बालिका र २ बालक रहेका छन् । मृतक चारै जना जिल्लाको कैलाश गाउँपालिकाका हुन् । उनीहरु कैलाश गाउँपालिका वडा ३, ४ र ७ निवासी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले जानकारी दिए ।
जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा बालबालिका, सुत्केरी तथा गर्भवतीमा कुपोषणको दर उच्च देखिएको छ । राक्सिराङमा भने यस वर्ष कुपोषणका कारण मृत्यु भएको घटना नभएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए ।
पालिकाले चालु आवदेखि ‘कुपोषणरहित गाउँपालिका, हाम्रो अभियान’ सहित हरेक टोलमा पुगेर कुपोषितको ‘खोज र उपचार गर’ अभियान चलाएको थियो ।
उक्त अभियानअन्तर्गत गाउँपालिकामा चालु आवमा ३४ महिला र ४८ बालबालिकामा कुपोषण पाइएको थियो । तीमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शीघ्र कुपोषित रहेका भेटिए ।
कडा शीघ्र कुपोषणको उपचारका लागि गाउँपालिकाका ३ स्थानमा बहिरंग स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको छ । वडा ३ को कटुन्जे स्वास्थ्य चौकी, ८ को भार्ता स्वास्थ्य चौकी र वडा ७ को निको स्वास्थ्य चौकीमा केन्द्र राखिएको छ ।