हेटौंडा औद्योगिक क्षेत्रमा बहुर्राष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमी उत्साहित

तु खबर संवाददाता
२०८१ असार २१, शुक्रबार १८:२७
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा बहुर्राष्ट्रिय कम्पनी स्थापना गर्न उद्यमी उत्साहित देखिएका छन् ।

अहिले नयाँ बहुर्राष्ट्रिय कम्पनीहरु स्थापना गर्ने क्रममा उद्यमीहरुले प्रतिस्पर्धा गर्दै औद्योगिक क्षेत्र व्यवस्थापनसँग नियमित सम्पर्कमा आउन थालेका हुन् ।

सो औद्योगिक क्षेत्रको परिसर भित्र अहिले विभिन्न १५ वटा निर्माणाधिन उद्योगमध्ये ७ वटा उद्योगहरुले भवन निर्माण कार्यालय तिब्रता दिँदै आएका छन् ।

उक्त निर्माणाधिन उद्योगहरुले आगामी ९ महिना भित्रै आ–आफ्नो उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्यमा प्राथमिकता राखी अघि बढेको हेटौंडा औद्योगिक क्षेत्रले जनाएको छ ।

यसैगरी, अहिले हेटौंडा औद्योगिक क्षेत्रमा विभिन्न प्रकारको गरी १२२ वटा उद्योगहरु दैनिक सञ्चालनमा रहेका छन् । सो औद्योगिक क्षेत्रमा विगत १ दशक अघिदेखी विभिन्न प्रकारको ६ वटा उद्योगहरु आर्थिक संकट र कच्चा पदार्थको अभावमा बन्द गर्न बाध्यता भएको पनि हेटौंडा उद्योग सँघ मकवानपुरले जनाएको छ ।

उक्त औद्योगिक क्षेत्रमा सञ्चालित विभिन्न उद्योगहरुबाट हालसम्म जम्मा ८ हजार २७५ जनाले प्रत्यक्ष रोजगारीको अवसरहरु प्राप्त गरिरहेको औद्योगिक क्षेत्रका सूचना अधिकारी मनिष मिश्रले जानकारी दिए ।

हेटौंडा औद्योगिक क्षेत्रमा विभिन्न मझौला उद्योग, बहुर्राष्ट्रिय कम्पनीहरुलाई स्थापना गर्ने क्रममा औद्योगिक क्षेत्रको पूर्वपट्टिमा रहेको करिब १ हजार २०० रोपनी जग्गा जगेडामा राखिएको हेटौडा औद्योगिक क्षेत्रका प्रबन्धक संगिता कुवंरले बताइन् ।