हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ मा मंगलबार सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
हेटौंडा–धरान चतरा सडकखण्ड अन्तर्गत पर्ने उक्त स्थानमा हटियातर्फ जाँदै गरेको मकवानपुर सहकारी अस्पतालको ना ३ च ८२९८ नम्बरको एम्बुलेन्सले ना ४२ प ५७०९ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा–१७ का ३८ वर्षीय सुनिल दर्नाल र मोटरसाइकल सवार हेटौंडा–५ पिप्लेका अन्दाजी ४५ वर्षीय भाष्कर पौडेल रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
