हेटौंडा उपमहानगरपालिकाको बजेट पारित

तु खबर संवाददाता
२०८१ असार ७, शुक्रबार १७:१९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

उपमहानगरपालिकाले गत असार २ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट शुक्रबार बसेको १५ औँ अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाको आगामी आवको लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६ दशमलव ०७ प्रतिशतले कम बजेट रहेको छ । अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभाव तथा संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमालाई ख्याल गर्दै बजेटको आकार घटाएको उपमहानगरपालिकाले जनाएको छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख, आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट ६१ करोड ६५ लाख तथा प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख रुपैयाँ रहेका छन् ।

उपमहानगरले पूर्वाधार क्षेत्र विकासमा पर्ने सडक, ऊर्जा, वत्ती, जलस्रोत, पर्यटन, भवन तथा अवासलगाततर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ७ करोड ५६ लाख, सामाजिक विकासतर्फ ९३ करोड १९ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड १२ लाख, कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च एवम् वित्तिय व्यवस्थापनतर्फ साँवा व्याज भुक्तानीका लागि ४० करोड ६२ लाख सुशासन तथा संस्थागत विकासतर्फ २ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।