बिहानै सवारी दुर्घटना हुँदा २० जना घाइते, पाँचको अवस्था गम्भीर

तु खबर संवाददाता
२०८१ जेष्ठ ३२, शुक्रबार ०९:२५

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहानै सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रीबस र विपरित दिशातर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त नदी किनारमा खस्दा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटना परेर घाइते भएकामध्ये कारमा सवार पाँच जना गम्भीर घाइते रहेका छन् । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको छ ।

उक्त बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।