मकवानपुरमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ रमनटारस्थित मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी मध्यबिन्दु नगरपालिका–१४ बस्ने ४७ वर्षीय दिलबहादुर टण्डन क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ८४४९ नम्बरको टिफरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प १६३१ नम्बरकोे स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक क्षेत्री गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई तत्काल उद्दार गरी उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो । उनको सोही अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
मृतक क्षेत्रीको शव सोही अस्पतालमा रहेको र प्रहरीले टिफर चालककलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
