चितवनमा जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ २०, आईतवार १५:५१
File Photo

चितवन । चितवनको खैरहनी नगरपालिका–१२ दराई ताल नजिकै आज जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् ।

कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना ४ च ८८५५ नम्बरको पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त जिप अनियन्त्रित भई दुर्घटना हुँदा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीया रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशङ्कर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर र ६२ वर्षीय पङ्कज गुप्तेश्वर घाइते भएका हुन् ।

घाइते पर्यटकको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले जिप चालक चितवनको रत्ननगर नगरपालिका–४ घर भएका ४५ वर्षीय सन्तकुमार चौधरीलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।