पानीको बढ्दो समस्या र चिन्तित विश्व

गिरिजा अधिकारी
२०७४ चैत्र ७, बुधबार १७:५३
तस्बिर : अन्जन दाहाल । तु खबर

विश्वमा अहले पानीको हाहाकार बढ्दै गइरहेको छ । पानीका परम्परागत स्रोतहरु सुक्न थालेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार, सन् २०२५ सम्ममा पानीको संकट झनै बढ्दै जानेछ । अहिलेसम्ममा विश्वमा २ अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट बन्चित छन् । असुरक्षित पानी र सरसफाईको अभावमा विश्वमा हाल ८ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

बढ्दो जनसंख्या, बनजंगलको विनास र अन्य धेरै कारणले पानीको स्रोत घट्दो छ । जसले गर्दा जीवन नै संकटमा पर्ने अवस्था बन्ने कुराले अहिले विश्वलाई चिन्तामा पारिरहेको छ । पानीको स्रोतको संरक्षण र यसको उपयोगमा जनचेतना जगाउने र अन्य थुप्रै महत्वपूर्ण काम गर्नका निम्ति मार्च २२ मा विश्व पानी दिवश मनाउने गरिन्छ । सन् १९९२ मा रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्संघको वातावरण र विकास सम्बन्धी सम्मेलनले पानी दिवश मनाउन सिफारिस गरेको थियो । पछि राष्ट्रसंघको महासभाले मार्च २२ लाई पानी दिवशको रुपमा मनाउने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई खानेपानी र सरसफाईमा पहुँच हुने ग्यारेन्टी गरेको छ । यो संविधानको ग्यारेन्टीलाई कार्यान्वयनमा ल्याउन भने सकिएको छैन ।

जलवायू प्रदुषण र बढ्दो औद्योगिककरण पनि पानीको स्रोत सुक्दै जाने महत्वपूर्ण कारण हो । ग्रामिण क्षेत्रहरुमा पानीको उपलब्धता भएपनि त्यो कति स्वच्छ छ भनी अहिलेसम्म एकिन् गर्न सकिएको छैन भने राजधानी काठमाडौंमा त पानीको हाहाकार नै छ ।
नेपालको ग्रामिण क्षेत्र होस् वा सुविधा सम्पन्न मानिने गरिएको राजधानी काठमाडौं नै किन नहोस् पानीको अभावको सामना गरिरहेको छ । नेपालमा सन् २०३० सम्मका लागि निर्धारण गरिएको दिगो विकास लक्ष्यमा ९९ प्रतिसत घर परिवारले आधारभूत पानीको सुविधा प्राप्त गर्ने कुरा उल्लेख छ ।

पानीको स्रोतको संरक्षणमा नेपालमा पनि उल्लेख्य कामहरु भएका छन् । तर, ती कामहरु प्रयाप्त भने छैनन् ।
आकासबाट परेको पानीको संरक्षण गरेर त्यसलाई प्रयोगमा ल्याउन सकिन्छ भने आकासे पानीलाई जमीनमा चार्ज गर्न सकिने विधि पनि प्रचलनमा छ । तर, सबै भन्दा महत्वपूर्ण विषय चाहिँ के हो भने पानीको स्रोतका् संरक्षण र यसको उपयुक्त प्रयोग विधिबारे सबैले चिन्ता लिने बेला भने भैसकेको छ ।

स्वच्छ पानीको प्रयोगका लागि विग्रिदै गएको वातावरणमा सुधार, वनजंगलको संरक्षण र औद्योगिक करणका कारणबाट पानीको स्रोतमा पर्न जाने असर न्यूनिकरण आवश्यक देखिएको छ ।