दुर्घटनामा परेर एक जनाको मृत्यु
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा गएराति मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १च ४३२० नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै, सोही दुर्घटनामा परेर अन्य १२ जना घाइते भएका छन् । दुर्घटनामा सत्यवति–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शङ्कर विक घाइते भएका हुन् ।
घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
