क्यानडामा प्लास्टिक प्रदूषण नियन्त्रण सम्बन्धी चौथो सत्र सुरु

गिरिजा अधिकारी
२०८१ बैशाख ११, मंगलवार १७:१०
तस्बिर : यूएनइपी

ओटावा, क्यानडा । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको आयोजनामा क्यानडाको राजधानी ओटावामा विश्वव्यापी प्लास्टिक सन्धीका सन्दर्भमा निर्णायक चौथो सत्र सुरु भएको छ ।

सामुद्रिक वातावरणसहित प्लास्टिक प्रदूषणमा अन्तर्राट्रिय कानूनी रुपमा बाध्यकारी उपकरणको विकास गर्न अन्तर सरकारी वार्ता समितिको चौथो सत्र आयोजना भएको हो । आउँदो पाँचौ सत्रमा यस सम्बन्धी विषयलाई अन्तिम रुप दिइने छ । यस विषयमा यसअघि तीन सत्रहरु विभिन्न देशमा आयोजना भएको थियो ।

संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रमका कार्यकारी निर्देशक इनगर एन्डरसनले नवीकरणीय उर्जा प्रविधिहरुजस्ता विशिष्ठ प्रयोगहरुका लागि प्लास्टिकको आवश्यकता जारी रहने भएपनि त्यसलाई न्यूनीकरण गर्दै जान सबै पक्षबीच सहमति बढ्दै गएको बताइन् । हामीले हासिल गरेका कुराहरुमा गर्व गर्न सक्छौँ, तर आधा काम गरिएको काम नगरिएको जस्तै हो, प्लास्टिक प्रदूक्षणले इकोसिस्टमलाई असर पारिरहेको छ, उनले भनिन् ।

उनले भनिन् – त्यसैले, म आइएनसीलाई ऊर्जा, प्रतिबद्धता, सहयोग र महत्वाकांक्षा देखाउन अनुरोध गर्दछु ।

अब यस सम्बन्धी कार्यक्रम कोरियामा हुनेछ र त्यहाँ यी सम्झौताहरुलाई अन्तिम रुप दिइने छ । त्यसपछि आयोजना हुने कुटनीतिक सम्मेलनमा राष्ट्र प्रमुखहरुले सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

कार्यक्रममा क्यानाडाका वातावरण मन्त्री स्टिभन गुइलबल्टले सन् २०२४ को अन्त्य सम्ममा प्लास्टिक प्रदूषण सम्बन्धि विश्वव्यापी सम्झौतामा सहमत हुनु भनेको सबैभन्दा महत्वपूर्ण वातावरणीय निर्णयहरु मध्ये एक भएको बताए । यो प्लास्टिक प्रदूषण अन्त्य गर्ने साझा लक्ष्यमा विश्वलाई एकजुट गर्न पहिलो सम्झौता हुनेछ, उनले भने । उनले क्यानाडामा आएका सबै आगन्तुकहरुलाई स्वागत गर्दै प्लास्टिक प्रदूषण नियन्त्रणका उपायहरुको खोजी जारी राख्न पनि आह्वान गरे ।

आइएनसीका कार्यकारी सचिव ज्योति माथुर फिलिपले प्रतिनिधिहरुलाई यो बारेका मुद्धाहरु जानकारी भएको उल्लेख गर्दै जसलाई यसै सत्रमा सम्बोधन गर्न आवश्यक रहेको बताइन् । यसका लागि लचिलो हुनु आवश्यक रहेको पनि माथुरको भनाई थियो ।