टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख ८, शनिबार १६:१८
file photo

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा लु २ ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएका व्यक्ति सवारी साधन र निर्माण उपकरणको मर्मत गर्ने मिस्त्री (कामदार) भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतकको सनाखत भने भएको छैन ।

यस्तै, सोही दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा चालकसहित तीन जना रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको चिमखोला स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भइरहेको जनाइएको छ ।