हेटौंडाको औद्योगिक क्षेत्रस्थित एक फ्याक्ट्रीमा आगलागी

तु खबर संवाददाता
२०८१ बैशाख ८, शनिबार ०८:३५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, औद्योगिक क्षेत्रस्थित एक फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ ।

बिहान सवा १२ बजेको समयमा हेल्पबक्स प्याकेजिंङ प्रा.लि.कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

प्रहरी निरीक्षक शाहका अनुसार, उक्त फ्याक्ट्री काठमाडौ महानगरपालिका वडा नम्वर १९ बस्ने संजिब मानन्धरले संचालन गर्दै आएका थिए । आगलागीबाट मानबीय क्षति भने भएको छैन ।

फ्याक्ट्रीमा के–कसरी आगलागी भएको र आगलागीबाट कति धनजनको क्षति भएको भन्ने विवरण आउँन बाँकी रहेको छ । आगलागीबाट भएको क्षति बारे आज अपराह्नसम्ममा विवरण आउने प्रहरी निरीक्षक शाहले बताए ।

आगो प्रहरी सहायक निरीक्षक केदार शाह बानियाँको कमाण्डमा खटिएको टोली र सशस्त्र नं.१४ गण हेटौंडाबाट प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतको कमाण्डमा खटिएको टोली, नगर प्रहरी, हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा बिहान सवा ५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।