चिर्पट प्रहार गरी युवकको हत्या, एक जना पक्राउ
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा सोमबार चिर्पट प्रहार गरी एक युवकको हत्या गरिएको छ ।
दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
बिनोदको हत्या गरेको अभियोगमा प्रहरीले सोही उपमहानगरपालिका–४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा बनोद गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका बिनोदको बेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनालगतै संलग्न उमेशलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै पक्राउ परेका उमेशमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
