कारको ठक्करबाट मकवानपुरका ११ वर्षीय बालकको मृत्यु
मकवानपुर । मकवानपुरमा कारको ठककरबाट ११ वर्षीय बालकको मृत्यु भएको छ ।
सिन्धुली सडकअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–४, गोठखोलामा सोमबार कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय निशान बानियाँ रहेका छन् ।
प्रहरीका अनुसार, सोमबार दिउँसो १ बजेको समयमा हात्तिसुडेबाट गरगरेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले विपरित दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा ती बालक गम्भीर घाइते भएका थिए ।
खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले कार चालक चितवनको भरतपुर महानगरपालिका–१० की ३५ वर्षीया शारदा सुवेदीलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
