देशभरका शिवालयमा पूजा–आराधना गरी महाशिवरात्रि मनाइँदै

तु खबर संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार ०८:४२

काठमाडौं । आज भगवान् शिवको पूजा–आराधना गरी देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने उक्त महाशिवरात्रि आज परेको हो ।

आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।