कपिलवस्तु दुर्घटना अपडेट: मृतक सबैको सनाखत
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परेर मृत्यु भएका सबैको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुर्घटनामा परेर मृत्यु भएका १० जनाकै सनाखत भएको जानकारी गराएको हो ।
मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे, नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।
यसैगरी, भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्ट, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाँटा बस्ने विमला देवी भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई बुटवल पठाइएको छ भने अन्यको स्थानीय अस्पताल उपचार भइरहेका छ ।
