दुर्घटनामा परेर कांग्रेसका नेता एवम् पूर्व मन्त्री पौडेलको मृत्यु

तु खबर संवाददाता
२०८० माघ १७, बुधबार १५:२४
file photo

चितवन । दुर्घटनामा परेर नेपाली काँग्रेसका नेता एवम् बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ ।

बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा नेता पौडेलको मृत्यु भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार नेता पौडेलको घटनास्थलमै मृत्यु भएको नेपाली कांग्रेस चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १७ विजयनगर घर भएका ६६ वर्षीय पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए ।

उनी कांग्रेसको महासमिति समेत सदस्य हुन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ ।