हेटौंडाका तीन स्थानमा हिंसाविरुद्ध सचेतना

तु खबर संवाददाता
२०८० मंसिर १९, मंगलवार १८:०३

मकवानपुर । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको विभिन्न तीन स्थानमा प्रशिक्षण तथा सडक नाटक प्रदर्शन गरिएको छ ।

हेटौंडा उपमहागरपालिकाले नगरको ३, १३ र १६ नम्बर वडामा सचेतनामुलक प्रशिक्षणसहित सडक नाटक प्रदर्शन गरेको हो ।

कार्यक्रम अन्तरगत मंगलबार हेटौंडा–३ बसामाडीमा आयोजित लैड्डिक हिंसाविरुद्धको प्रशिक्षणमा अधिवक्ता मनप्रसाद भट्टराईले सहजीकरण गरेका थिए ।

उनले सहभागिलाई हिंसाको चक्रका बारे जानकारी गराएका थिए । हिंसाको चक्रमा किशोर अवस्था, यौवन अवस्था, गर्व अवस्था र बृद्ध अवस्थामा बढि मात्रमा हुने गरेको जानकारी दिए । उनले अहिले अदालतको मुद्धाको आधारमा ४० कटेका पुरुषहरुवाट हिंसाका घटनाहरु हुने गरेको जानकारी गराए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बालमैत्री स्थानीय शासन, हिंसाका क्रममा आवश्यक पर्ने सरकारी संयन्त्र, न्यायीक समितिका मेलमलिप कर्ताको भूमिका र समाजमा हुने घटनाहरुका बारे सहजिकरण गरेकी थिइन् ।

लैड्डिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालवालिकामा लगानीको एक्यवद्धता भन्ने नाराका साथ हेटौंडा १३ बनस्पती र हेटौंडा १६ हटियामा कार्यक्रम सम्पन्न भैसकेको महिला तथा बालबालिका महाशाखाले जनाएको छ ।

प्रशिक्षणसँगै सञ्चालित नाटकमा बोक्सिको आरोपमा गरिने हिंसा, श्रीमानले मादक पदार्थ सेवन गरेर गर्ने कुटपिट, ललाई फकाई बाह्य मुलुक लगेर बेचबिखन गर्ने सहितका विषय समेटिएको थियो ।

कार्यक्रम सञ्चालनको क्रममा नगरस्तरिय महिला जागरण समूह, मानव अघिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको संजाल र राजदेवि महिला उहुुउद्देश्यीय सहकारी सस्थासँग समन्वय गरिएको थियो ।

तिन वडामा सञ्चालित कार्यक्रममा वडाध्यक्षसहित जनप्रतिनिधी तथा स्थानीयको उल्लेखनिय सहभागिता रहेको थियो ।