माओवादीले भुकम्प पीडितलाई ५० लाख उपलब्ध गराउने
काठमाडौं । नेकपा माओवादी केन्द्र भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले उक्त निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए ।
उनका अनुसार, बैठकले भुकम्प पीडितहरूलाई राहत र पूनर्निमाणमा पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै, बैठकले राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामेडाँडामा ६.४ म्याग्निच्युटको भुकम्प गएको थियो । उक्त भुकम्पमा परेर १५७ जानाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।
