दशैँमा मौसम सामान्यतया सफा रहने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यसपालीको दशैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैँमा देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने बताएका हुन् ।
महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दशैँ बुलेटिन आउने मौसमविद् लामिछानेले जानकारी दिए ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै, आज रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।
