रसुवामा मिनी ट्रक दुर्घटना, ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार ०८:५८
file photo

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सोमबार साँझ पौने ६ बजेको समयमा नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा ५ ख ५७८ नम्बरको आयसर मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका छन् । दुर्घटनामा परेर तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, उक्त दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अन्य भने सामान्य घाइते भएको र उपचारका लागि अस्पताल पनि पुर्याउन नपरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।